लेटाङ, २७ चैत। लेटाङ नगरपालिकाले आज पुनः एकपटक सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्नेभएको छ । नियमित रूपमा आयोजना हुने भनिएको यस्ता सुनुवाइहरू जनप्रतिनिधिहरू र नागरिकबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम हुनुपर्ने हो। तर, स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिहरूको भनाइमा आधारित रहेर हेर्दा, यस्ता कार्यक्रमहरू अब औपचारिकताको आवरणमा सीमित हुन थालेका छन्।
सुनुवाइ कार्यक्रममा जनताले सडक, खानेपानी, फोहर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्या उठाछन। यस्ता सवालहरू विगतका सुनुवाइहरूमा पनि पटक–पटक उठाइएका थिए। “पाँच वर्षदेखि एउटै कुरा उठाउँदै आएका छौं, तर समाधानको कुनै ग्यारेन्टी छैन,” स्थानीय बासिन्दा खगेन्द्र राईले गुनासो गरे। उनका अनुसार, नगरपालिकाले सुनुवाइको रिपोर्ट लेख्ने तर त्यसको कार्यान्वयन गर्ने इच्छाशक्ति देखाएको छैन।
यस्तै, नगरको बजेट, विकास आयोजनाको पारदर्शिता, र प्राथमिकतामा आधारित कार्यक्रम छनोटबारे पनि प्रश्न उठे। “हामीले सुझाव दिएकै योजना हराउँछ, निर्णय कसरी हुन्छ भन्ने थाहा पाइँदैन,” स्थानीय युवा निर्मल दाहालले भने।
नगरले भने जनप्रतिनिधिहरू जनताको सवालप्रति संवेदनशील रहेको र “यथासक्य समस्याहरू सम्बोधन गर्ने प्रयास भइरहेको” भन्दै समिक्षात्मक अभिव्यक्ति दिईरहेको छ। तर, नगरका गतिविधिमा स्थायित्व, दीर्घकालीन योजना र जनताको विश्वास कायम राख्न अझै धेरै गृहकार्य आवश्यक देखिन्छ।
सार्वजनिक सुनुवाइ जनसहभागितामूलक शासन प्रणालीको मेरुदण्ड हो, तर जब यो औपचारिकताको रेखाबाट अगाडि बढ्न सक्दैन, त्यसको विश्वसनीयता गुम्न थाल्छ। लेटाङ नगरपालिकाले अब यस्ता सुनुवाइलाई कर्मकाण्डमा सीमित नराखी, त्यसबाट उठेका सवालहरूको जवाफदेही र कार्यान्वयनलाई प्राथमिकता दिनु आवश्यक छ। नत्र, यी कार्यक्रमहरू जनताको आँखामा झनै शंकास्पद बन्छन्।