लेटाङ, १० जेठ । धानको विउ राख्ने समय हो यो । यस समय धेरै धान फल्ने , छिटो पाक्ने , स्वादिलो धानको खोजीमा किसानहरु छन् । कतिपय किसानहरुले धानको विउ राखिसकेका छन् भने कतिपय अझै राखिरहेका छन् ।
हाल लेटाङमा उपलब्ध हुन सक्ने, हर्दिनाथ, रन्जित धान उपयुक्त हुने अगुवा कृषकहरु वताउछन् । त्यसो त ठुलो मन्सुली तथा राजासत्र लगायतका धान समेत लेटाङका किसानहरुले लगाउने धानहरु हुन् ।
यता लेटाङ नगरपालिका कृषी विकास शाखाका प्रमुख करण श्रेष्ठ भने नेपाल कृषि अनुसन्धान केन्द्र तथा बीउ बिजन केन्द्र उन्मोचित धान बालिका जातहरु लगाउन सिफारिस गर्नुहुन्छ । कोरोना भाईरसको संक्रमणका कारण देश लकडाउनमा भईरहेका वेला विउको उपलव्धता सहज नभएपनि कृषि भण्डार तथा एग्रोभेटहरुमा नास्टले सिफारिस गरेको धानको विउ उपलब्ध हुने समेत श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेको जटिल परिस्थितिमा स्थानिय ठाँउमा उपलव्ध भएका विउहरुलाई नै उपचार गरेर ब्याड राख्दा समेत राम्रो फसल दिन सक्ने श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २० लिटर पानी र ४ केजी वा ४.५ केजी युरिया हालेर विउ भिजाउने । उत्रेका बिउ हटाउने र पिधका विउ सफा पानीले पखालेर गुम्स्याउने वा ब्याडमा छर्नुपर्छ । हिले व्याडका लागि भिजेको बिउ २४ घण्टा जुटको बोरोमा राखेर मात्र छरेमा राम्रो हुन्छ ।