हरि कोइराला
रतुवामाई÷ मोरङको रतुवामाई १० सोमबारेस्थित गोपेश्वर शिव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकसित गर्न थालिएको छ । २०४७ सालमा स्थापना भएको मन्दिर परिसरमा हालसम्म सरस्वती,पञ्चेश्वर महादेव ,सूर्यनारायण, गणेश,विष्णुलक्ष्मी, कृष्ण,नागेश्वर र बिर्खेश्वर मन्दिर निर्माण भइसकेका छन् ।
१८ पुराण लगाउने कार्यक्रम अन्तरगत हरेक वर्ष माघमा पुराण लाग्दै आएको गोपेश्वर मन्दिर परिसरमा यो वर्ष पनि गत माघ २३ गते देखि ९ दिवसीय नारदीय पुराणको आयोजना भएको थियो । पुराणका क्रममा यो वर्ष मन्दिरलाई २० लाख नगद सहित अन्न र जग्गादान प्राप्त समेत भएको छ । हरेक वर्ष लाग्ने पुराणमा स्थानीय दाताबाट संकलित नगदबाट मन्दिरको पूर्वाधार र सौन्र्दयीकरण भइरहेको मन्दिरका अध्यक्ष पुष्पलाल सुबेदीले बताउनु भयो ।
यो मन्दिर परिसरमै जोडिएको १३ धुर जग्गा उर्लाबारी निवासी जीतबहादुर पौडेलले दान गर्नु भएको छ । भने २ धुर जग्गा विष्णुमाया आचार्यले दान गर्नु भएको छ । पुराण आयोजक समितिका सह सचिव जितु न्यौपानेले भन्नुभयो–‘गोपेश्वर मन्दिर परिसरलाई पूर्वको ठूलो धार्मिक केन्द्रमा विकसित गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार यो वर्ष १३ औं पुराण लगाएका हौं ।’२०६४ सालमा दर्ता भएको मन्दिरको हाल ६ कठ्ठा ५ धुर जग्गा छ । मन्दिर परिसरमा यसै वर्ष भब्य र आकर्षक सामूदायिक भवन र बिबाह मण्डप निर्माण गर्ने तयारी भइरहेको छ ।
गोपेश्वर मन्दिर परिसरमा धमाधम मन्दिरहरू निर्माण भइरहेका छन् ।मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय धामको रुपमा परिणत गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताउनु भयो । उहाँले पर्यटकीय धाम निर्माणका लागि गुरुयोजना समेत तयार भइरहेको बताउनु भयो । मन्दिर परिसरमा पशपतिनाथमा जस्तै चौरास निर्माणको काम भइरहेको छ । चौरास निर्माणमा स्थानीयको मात्र होइन टाढा टाढाका धर्मानुरागीहरू पनि तन मन र धनको सहयोग भइरहनु भएको छ –अध्यक्ष सुबेदीले भन्नुभयो । दाताहरूबाट प्राप्त सहयोगले हरेक वर्ष २० लाख बढीको निर्माणको काम भइरहेको सुबेदीको भनाई छ । उहाँले भन्नुभयो–हरेक वर्ष आयोजना हुने पुराणमा २० हजार बढी भक्तजनले सहभागिता जनाउने गरेका छन् । पुराणमा ठूलो रकम दान गर्ने भन्दा पनि धेरैले सहभागिाता जनाउन र थोरै–थोरै दान गरुन भन्ने हाम्रो उदेश्य हो ।
सुरु देखि नै भानु कोइरालाको प्रमुख वाचकत्व र रमेश खनालको उपवाचकत्वमा पुराण सञ्चालन भएको हो । गोपेश्वर मन्दिर परिसरमा गुरुकुल शिक्षाका लागि कक्षा १ देखि ५ सम्मको औपचारिक पढाइ समेत हुने गरेको छ । गुरुकुलमा ब्राम्हण समूदायका मात्र होइन ,क्षेत्री, जनजाति र दलित समूदायका विद्यार्थीले पनि पढ्ने गरेका छन् ।
