मोरङ १०चैत ।अत्यधिक आम्दानी हुने अलैंची खेतीको विस्तार भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रको केराबार र मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकामा अलैंची खेती विस्तार भइरहेको हो । उक्त गाउँपालिका र नगरपालिकास्थित विकट गाउँका किसान अलैंची खेतीतर्फ आकर्षित भएका छन् ।
केराबारी २ सिंहदेवीस्थित संगमटोलका खगेन्द्रप्रसाद जमरकट्टेलले ५ रोपनीमा अलैंची खेती लगाएको बताए । ‘अलैंचीमा राम्रो आम्दानी देखेर व्यावसायिक खेती सुरु गरेको हुँ,’ उनले भने, ‘वर्षमा ८ मनसम्म अलैंची फलाएर बिक्री गर्दै आएको छु ।’ उनले बर्सेनि अलैंची खेती बढाउँदै लगेको सुनाए ।
आफूले मकै, कोदोलगायतका अन्न बाली खेती छोडेको र धान/चामल खरिद गरेरै उपयोग गर्न थालेको उनले बताए । जमरकट्टेलले भने, ‘मकै, कोदो उब्जिने सबै खेतमा व्यावसायिक अलैंची र केहीमा ग्राउन्ड एप्पलको खेती गरेको छु ।’ टोलका ३२ घर परिवारमध्ये अधिकांशले अलैंची गर्दै आएको उनले बताए । यहाँका किसानहरूले बर्सेनि अलैंची खेती विस्तार गर्दै लगेको जमरकट्टेलले सुनाए । आफूले लगाएको अलैंचीको बेर्नाबाट यस वर्ष १४ हजार बिरुवा बिक्री गरेको बताए ।
त्यस्तै फाइबाका इन्द्रकुमारी लिम्बुले २ रोपनीबाट सुरु गरेको अलैंची खेती अहिले १० रोपनीमा पुर्याएको बताइन् । ‘अलैंची खेती विस्तार गर्न गाउँको बचत समूहबाट ऋण लिएर थप ९ रोपनी जग्गा खरिद गरें,’ उनले भनिन्, ‘अलैंचीबाट मनग्ये आम्दानी हुने गरेकाले यसको खेती विस्तार गर्दै लगेको छु ।’ गरिबी निवारण कोषको सहयोगमा गाउँमा सिँचाइ आयोजना निर्माण भएपछि अलैंची खेती झन् विस्तार भइरहेको उनले सुनाइन् ।
गैरीटोलकी आरती लिम्बुले ०७२ बाट अलैंची खेती सुरु गरेको बताइन् । ‘सुरुमा रोपेको १ हजार बिरुवाबाट यस वर्ष ३ मन अलैंची फल्यो,’ उनले भनिन्, ‘३० हजार मनका दरमा अलैंची फागुनमा नै बिक्री गरिसकें ।’ अलैंचीबाट राम्रो आम्दानी भएकाले घरका सदस्यहरूले थप अलैंची खेती विस्तार गर्ने तयारी गरेको उनले बताइन् । अलैंची खेती विस्तारका लागि गाउँमा गठित बचत समूहबाट थप ५६ हजार ऋण लिएर सिँचाइका लागि पाइप र अलैंचीको बेर्ना लगाएको लिम्बुले सुनाइन् ।
जिल्ला कृषि विकासका निमित्त वरिष्ठ कृषि विकास अधिकृत काशीकुमार चौधरीले मोरङको केराबारी, मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको उत्तरी विकट क्षेत्रमा अलैंची खेतीको राम्रो सम्भावना रहेको र खेती विस्तार पनि भइरहेको बताए । ‘जिल्लामा अहिले २ सय हेक्टरमा अलैंची खेती भइरहेको छ,’ उनले भने, ‘यहाँ प्रतिहेक्टर ० दशमलव ६ टन अलैंची उत्पादन भइरहेको छ ।’ अलैंचीबाट राम्रो आम्दानी भइरहेकाले किसानहरू पनि आकर्षित भएको उनले बताए । अलैंची महासंघका अध्यक्ष निर्मल भट्टराईले मुलुकमा झन्डै १२ हजार ५ सय हेक्टरमा अलैंची खेती भइरहेको बताए । उनका अनुसार अलैंचीबाट करिब एक लाख घरधुरीले रोजगारी पाउनुका साथै अलैंची निर्यात गरेर वार्षिक ६/७ अर्ब विदेशी मुद्रा आर्जन भइरहेको छ ।