लेटाङ १५ कार्तिक । लेटाङ नगरपालिका वडा नम्बर ५ करमबोटेमा विद्युत ट्रान्समिटर जडान भएपछि स्थानीयबासी हर्षित भएका छन् । विद्युत विस्तार भएको वर्षौं भएपनि कम भोल्टेज आउने गरेका कारण समस्या झेल्दै आएका स्थानीयबासी ५० वाट क्षमताको विद्युत ट्रान्समिटर जडान भएपछि हर्षित भएका हुन् ।
पूर्व सभासद् डिगवहादुर लिम्बूले तत्कालिन समयमा संसद् विकास कोषको ४ लाख भन्दा बढी बजेटबाट ट्रान्समिटर खरिद गरि प्रदान गरेपनि जडान भने भएको थिएन । पूर्वसभासद् लिम्बूले खरिद गरि प्रदान गरेको ट्रान्समिटर अहिले नगरपालिका, वडा र स्थानीयबासीबाट संकलित २ लाख ८५ हजार ७ सय ५८ रुपैयाँ बजेट जडान गरिएको हो । जसमा लेटाङ नगरपालिकाबाट ९६ हजार १ सय ३० रुपैयाँ, लेटाङ ५ नम्बर वडा कार्यालयको ९५ हजार ६ सय २८ रुपैयाँ र स्थानीयबासीबाट ९४ हजार रुपैयाँ संकलन गरिएको विद्युत विस्तार समितिका अध्यक्ष टीकाराम लिम्बूले जानकारी दिनुभयो ।
यसैबीच विद्युत विस्तार समितिले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ । सो कार्यक्रम लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मेयर राईले करमबोटे–मजुवा क्षेत्रमा सडक तथा खानेपानीको समेत समस्या रहेको भन्दै त्यसका लागि नगरले बजेट विनियोजन गर्न लागेको बताउनुभयो ।