काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र परिवारवाद भित्र्याएका छन् । छोराछोरीलाई स्वकीय सचिव बनाउने देखि भाइलाई प्रदेश अध्यक्ष र ज्वाइँलाई सरकारी नियुक्ति दिलाउनेसम्ममा उनले ‘कीर्तिमान’ नै कायम गरेका हुन्। तत्कालीन नेकपा माओवादीले शुरू गरेको जनयुद्धमा परिवारका सदस्यलाई समेत आफूसँगै बन्दुक बोकाएर ‘उदाहरणीय’ बनेका अध्यक्ष दाहाल यतिबेला हामीबाट ‘म’मा ओर्लिएको चर्चा पार्टीभित्रै हुन थालेको छ ।
त्यसो त दाहाल पारिवारवादको चङ्गुलमा फसेको नयाँ घटना भने होइन । २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै ‘दाहालतन्त्र’को शुरूआत गरेका हुन् उनले । त्यतिबेला हाल दिवंगत भइसकेका छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टीभित्र आलोचनाको स्वर सुनिएको थियो । दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नाता गोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन् । नाताले आफ्नै भतिजा पर्ने समीर दाहाललाई उनले पीए नियुक्त गरेका थिए ।
त्यस्तै, छोरा प्रकाश दाहाललाई पनि पार्टी पोलिट्व्यूरो सदस्य र प्रधानमन्त्रीको सचिवालयमा राखिएको थियो । ०७५ मा आइपुग्दा अध्यक्ष दाहाल परिवारवादको चङ्गुलमा नराम्ररी फसेको प्रतीत हुन्छ । यसपटक छोरी, ज्वाइँ, बुहारी गरी झन्डै आठजनालाई उनले सरकारी नियुक्ति दिलाएका छन् भने भाइ नारायण दाहाललाई प्रदेश अध्यक्ष बनाउन सफल देखिएका छन् ।
छोरीलाई मेयर, बुहारीलाई मन्त्री
०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहयको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना सम्झन लायक रह्यो । कांग्रेस–माओवादी केन्द्रकी साझा उमेदवारकी रूपमा रहेकी प्रचण्डपुत्री रेणु दाहाललाई मेयर जिताउन मतपत्र च्यात्ने र दोहोर्याएर चुनाव गराउनेसम्म प्रपञ्च रचियो । र, रेणु भरतपुर महानगरपालिकाको मेयर बनिछाडिन् । मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष दाहालले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिए भने ज्वाइँ जीवन आचार्यलाई मोरङ–६ को ९क० मा प्रदेशको टिकट दिलाए ।
बुहारीले चुनाव जितिन् । ज्वाइँ जीवन भने निर्वाचित हुन सकेनन् । स्वर्गीय छोरा प्रकाशकी कान्छी पत्नीका रूपमा भित्रिएकी बिनालाई सांसदमा निर्वाचित गराएरमात्रै पुगेन, मन्त्री नै बनाउने रहर जागृत भयो । र, अहिले केपी ओली नेतृत्वको सरकारमा उनी सरसफाइ तथा खानेपानी मन्त्रीमा बहाल छिन् ।
भाईलाई अध्यक्ष, ज्वाइँलाई स्वकीय सचिव
प्रचण्ड ‘दाहालतन्त्र’का कस्ता सर्जक हुन् भन्ने कुरा बुझ्न प्रदेश ३ को अध्यक्ष छनोट हेरे पुग्छ । ५ असोजमा बसेको पार्टी सचिवालय बैठकले प्रदेशको अध्यक्ष र इन्चार्ज तोकेको थियो । सात प्रदेशमध्ये चार प्रदेश पूर्व माओवादी केन्द्रको भागमा परेको थियो । त्यसमध्ये प्रदेश ३ को अध्यक्षमा आफ्ना भाइ नारायण दाहाललाई छनोट गरेका छन् प्रचण्डले । पद र जिम्मेवारी आफ्ना नाता–गोतालाई सुम्पने प्रचण्डको कदम यतिमै सकिँदैन ।
जेठी छोरी जानु दाहाल ९हाल उनी दिवंगत भइसकिन्० का पति सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराएका छन् । त्यस्तै, माइला ज्वाइँ अर्जुन पाठक ९जो रेणु दाहालका पति हुन्० लाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको विशेष सल्लाहकारमा चयन गरेर सरकारी सेवा–सुविधा दिलाउन सफल भएका छन् ।
दुवै छोरी सत्ताको वरिपरि
माइली छोरी बाबुको ‘उत्तराधिकारी’का रूपमा भरतपुर महानगरको ‘बागडोर’ सम्हालिरहेकी छिन् भने कान्छी छोरी गंगा दाहाल पनि राज्यकोषको सेवा सुविधाबाट पर छैनन् । गंगालाई अध्यक्ष दाहालले आफ्नै सचिवालयमा राखेका छन् । दिवंगत छोरा प्रकाशले गर्दै आएको काम छोरीले गरिरहेकी छिन् । चुनाव हारेपनि सत्ताको सुविधाभोगबाट कान्छा ज्वाइँ जीवन पनि अछुतो छैनन् । मोरङ ६–को प्रदेशसभामा पराजित भएका आचार्य भर्खरै उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकारमा नियुक्त भएका छन् । उनी तीन महिना अघिदेखि त्यहाँ बहाल रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रचण्डपथको पटाक्षेप
नाता–गोता, इष्टमित्रलाई मात्रै पोस्ने दाहालको कार्यशैलीको पार्टीभित्र विरोध हुन थालेको छ । विशेषगरी पूर्व माओवादीभित्र उनको कृत्यप्रति असन्तुष्टि चुलिएको हो । कतिपय नेताकार्यकर्ताले यसलाई प्रचण्डपथको नैतिक अवसानका रूपमा समेत व्याख्या गरेका छन् । “जनयुद्धमा परिवारका सदस्यलाई पनि आफूसँगै भूमिगत बनाउने र परिवर्तनको बाटोमा हिँडाउने प्रचण्डको शान्तिपूर्ण राजनीतिमा आइसकेपछि त्यसको उपलब्धि आफ्नै परिवारको पोल्टामा परोस् भन्ने मान्यताबाट अघि बढिरहनुभएको छ,” पूर्व माओवादीका नेता भन्छन् ।
त्यस्तै, छिमेकी मुलुक चीनमा कतिपय राजनीतिक नेतृत्वले क्रान्तिताका सशस्त्र संघर्षमा ज्यान गुमाएका सहिद परिवार र तिनका छोराछोरीलाई अभिभावकत्व प्रदान गरेको र कतिपयको पढाइ नै नेताहरूले पूरा गरिदिएको पाठ पढाउने नेताहरूले शान्ति प्रक्रियामा अवतरण भइसकेपछि आफ्नै परिवारभन्दा बाहिर निस्कन नसक्नु दुखद् भएको ती नेताको भनाइ छ ।