-मीनकुमार नवोदित
जुन दिन छोराले ढाडमा चढेर
‘हट् घोडा हट्’ भन्न थाल्यो
त्यही दिनदेखि मैले बा’लाई सम्झन थालें।
त्यस भन्दाअघि त सम्झिरहें–
बाल्यकालका दौंतरीलाई
गणितको सूत्र नजान्दा
कान समाएर उठबस गराउने शिक्षकलाई
महिना नलाग्दै कोठा भाडा माग्ने घर मालिकलाई
अफिसमा सधैं जोक सुनाउने हाकिमलाई
छिनछिनमा चियोचर्चो गरिरहने छिमेकीलाई
अभावको आगो ताप्न नसकेर
आत्महत्या गर्ने धनजिते दर्जीलाई
र सम्झें–
आफ्नै जिन्दगीको अन्तिम ठेगानालाई।
जीवनको उकाली चढ्दै गर्दा
आज बा’लाई सम्झिरहेको छु
बा’लाई दङ्ग्याउन रातभरि ढिकुटीमा लुकेको
बा’लाई थर्काउन खोर्सानीबारी फाँडेको
अनि, गाई, भैंसी, गोरु सबै–सबैलाई
फुकाएर मकैबारीमा छाडेको
सिरानीमुनिबाट सुटुक्क पैसा निकालेर
असंख्य रहरहरू पूरा गरेको
विद्यालय जाने बहानामा साथीसंगीसँगै
खरबारीमा चिप्लेटी खेलेको
बा’कै टोपीलाई भकुण्डो बनाएको।
हो, यतिबिघ्न उपद्रो गर्दा पनि
बा आँगनको डिलमा बसेर
प…..र क्षितिजलाई देखाउँदै
खुसीका अनेकन सपना बुन्नु हुन्थ्यो
र, पढाउनु हुन्थ्यो जिन्दगीका पाठ।
मारेर आफ्ना असंख्य चाहनालाई
मेरै चाहनालाई मलजल गरिरहनु हुन्थ्यो
बा निरन्तर।
आज बा’को ठाउँमा छु म
सायद मेरो छोराले नि यसरी नै
सम्झँदो होला कुनै दिन–
र, भन्दो होला बा भनेको त साँच्चै
हजारौंको प्यास मेट्दै अविरल बग्ने
नदीको अर्को नाम रै’छ।