बालबालिकाले अपराध गरे सुधार गृहमा राखिने

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

देवबहादुर कुँवर

काठमाडौँ, साउन ३१ गते । भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिताले जस्तोसुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने व्यवस्था गरेको छ । बालबालिकालाई कानुनी सजायको भागिदार बन्न १४ वर्ष भन्दामाथिको उमेर तोकिएको छ । अपराध संहिताको दफा ४५ मा १० वर्षभन्दामाथि १४ वर्षमुनिको बालबालिकालाई छ महिनासम्म कैद ब्यबस्था उल्लेख गरिए पनि कैद नगरी बढीमा एकवर्षसम्म सुधार गृहमा राख्न भनिएको छ ।
त्यस्तैं, १४ देखि १६ वर्ष उमेरका बालबालिकाको हकमा भने कसुर अनुसार उमेर पुगेको ब्यक्तिलाई कानुन बमोजिम हुने सजायको आधा सजाय तोकिएको छ । १६ भन्दामाथि १८ वर्षभन्दा मुनिको हकमा उमेर पुगेको ब्यक्तिलाई कानुन बमोजिम हुने सजायको दुई तिहाई सजायको ब्यवस्था गरिएको छ ।
सोही ऐनको दफा ४५ को उपदफा ३ मा १८ वर्ष उमेर नपुगेको बालबालिकाको हकमा जरिवाना वापतको कैद सजायमा जरिवाना वा कैद सजाय मध्ये एउटा मिनाह गर्नु पर्ने, कैद सजाय निर्धारण गर्नु पर्दा तीन महिनाभन्दा बढी कैद गर्न नहुने ब्यवस्था गरेको छ ।
त्यस्तैं, १८ वर्षमुनिका बालबालिकामाथि अप्राकृतिक मैथुन तथा बालयौन दुराचार गर्ने विरुद्ध तीन वर्ष कैद ३० हजार जरिवानाको ब्यवस्था गरिएको छ ।
बालबालिकालाई बन्धक बनाई राख्ने, दास बनाउने घरेलु कामदारको रुपमा राख्ने, यातना दिने, श्रम शोषण गर्ने विरुद्ध तीनदेखि सातवर्षसम्म कैद सजायको ब्यवस्था गरेको छ । साथै ३० हजारदेखि एकलाख क्षतिपूर्तिको ब्यवस्था गरिएको छ । बालबालिकालाई मदिरा तथा सुर्तीजन्य बस्तुको खरिद विक्रीमा लगाउन नपाउने ब्यवस्था संहिताले गरेको छ ।
बाल विवाह नियन्त्रण गर्न केटाकेटी दुई वटैको उमेर २० वर्ष तोकिएको छ । २० वर्षमुनिको कुनै पनि विवाह स्वतः बदर हुने छ ।
उमेर नपुगी विहे गर्ने र गराएमा तीन वर्ष कैद ३० हजार रुपियाँ जरिजाना हुने कानुनी ब्यवस्था गरिएको छ । छोरा छोरीमाथि विभेदपूर्ण ब्यवहार गर्ने अभिभावकहरूमाथि पनि कडा कानुनी कारवाहीको ब्यवस्था गरिएको छ ।
मालिकलाई सजाय
त्यस्तैं, सार्वजनिक सडकमा छाडिएका पुशपंक्षी सवारी साधनको ठक्करबाट घाइते तथा मरेमा उल्टै चालक र धनीबाट क्षतिपूर्ति असुल्ने कार्यविरुद्ध नयाँ कानुन निर्माण गरिएको छ ।
नयाँ अपराध संहिताले सार्वजनिक सडकमा घरपालुवा पशुपक्षी छाडेर दुर्घटना गराउन सक्रिय पशुपक्षीका मालिकलाई नै कारवाही गर्नुका साथै क्षतिपूर्ति भराउने कानुनी ब्यवस्था गरेको छ ।
यसअघि सार्वजनिक सडकमा पशुपक्षी छोडेर गाडीले ठक्कर दिएमा मालिकले क्षतिपूर्ति लिने गरेका थिए । यही भदौ १ गतेबाट लागू हुने नयाँ कानुनले सार्वजनिक सडक, मैदान तथा स्थलहरूमा घरपालुवा पशुपक्षी छोड्न रोक लगाएको छ ।
यसरी, छाडिएका पशुपक्षीबाट कुनै ब्यक्ति वा सवारी चालक र यात्रीमा क्षति पुगेमा पशुपक्षीका मालिकलाई पक्राउ गरी कानुनी कारवाहीको ब्यवस्था गरिएको छ ।
अर्कोको घर आगन, बारी तथा सडक बाटोमा छाडा छोडेको खण्डमा उल्टै मालिकलाई जरिवाना हुनेछ ।
घरपालुवा पशुपक्षीलाई छाडा छोड्न नहुने ब्यवस्था गरिएको छ । घरपालुवा हिंस्रक पशुपक्षी छाडा छोड्दा त्यसको आक्रमणबाट कसैलाई गम्भीर चोटपटक लाग्न पुगी ज्यान गएमा मालिकलाई एकवर्ष कैद १० हजार जरिवाना हुनेछ ।
त्यस्तैं, मुलुकी अपराध संहिता ऐनको दफा २९० ले पशुपक्षीमाथि गरिने निर्दयी व्यबहार र कसुर सम्वन्धी ब्यबस्था गरेको छ । गाई र गोरु मार्ने तथा काट्ने कार्यमा प्रतिवन्ध लगाएको छ । कसैले गाईगोरु कुटी, मारी, अंगभंग पारेमा छ महिना कैद ५० हजार जरिवाना सजाय तोकेको छ । तर, आफ्नो जिउ ज्यान जोगाउने क्रममा गाई गोरु मर्न गएमा वा चोट लागेमा कसुर गरेको मानिने छैन ।
त्यस्तैं, परम्परागत रुपमा चलिआएको धार्मिकस्थल मठ, मन्दिर वा शक्तिपिठहरू वाहेक सार्वजनिक स्थलमा पशुपंक्षीको बली, निर्दयी तथा त्रूmरयातना दिन नपाउने ब्यवस्था गरेको छ । पशुपक्षीमाथि पनि भद्र ब्यवहार प्रदर्शन गर्न सूचित गरिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ