Menus
पर्यटक लोभ्याउने प्रदेश-१ का झरना

Letang Khabar मंगलबार, साउन ०८, २०७५

Namaste_Jharana_purba.jpg

इटहरी- हपहपी गर्मीमा छङछङ झरिरहेको पानी छुनुको मजै बेग्लै । तराईको प्रचण्ड गर्मीमा पहाडका झरनाहरू ‘मिस’ गर्ने धेरै हुन्छन्। प्रदेश-१ का पूर्वी तराई तथा सीमावर्ती भारतीय राज्यहरू विहार र पश्चिम बंगालका बासिन्दा पनि गर्मीमा भेडेटार नजिकैको नमस्ते झरना रमाउँछन्।

डोरीमा झुण्डिएर तल झर्दै खेलिने क्यानोनिङजस्तो साहसिक पर्यटनका लागि पनि झरना महत्वपूर्ण मानिन्छन्। पिकनिकमा रमाउन, रोप कोर्स खेल्न र अन्य धेरै पर्यटकीय गतिविधि पनि झरनामा गर्न सकिन्छ।

प्रदेश-१ मा नमस्तेबाहेकका झरना पनि छन्। तिनको जानकारी भएर पनि धेरै पुग्न सकेका छैनन्। केही त्यस्तै झरनाबारे यहाँ चर्चा गरिएको छ।

१) ह्यात्रुङ झरना, तेह्रथुम

तेह्रथुमको फेदाप गाउँपालिकास्थित सम्दु र इसिबुको सीमामा पर्छ, ह्यात्रुङ झरना। यो एसियाकै अग्लो झरना पनि हो। तीन सय ६५ मिटर अग्लो यो झरना पुग्ने सामान्य ‘फुट ट्रयाक’बाहेक अन्य पूर्वाधार बन्न सकेको छैन।

फेदमा स्विमिङ पोखरी निर्माण गर्ने स्थानीय सरकारको लक्ष्य छ तर काम शुरु भएको छैन। झरनामा पिकनिक र क्यानोनिङजस्ता सुविधा तयार भएका छैनन्। समुद्री सतहबाट १५ सय मिटरको उचाइमा पर्ने यो झरना मध्यपहाडी राजमार्गबाट आठ किलोमिटर र पाँचथरको सीमानजिकै पर्छ।

२) फुङफुङे झरना, ताप्लेजुङ

ताप्लेजुङको फुङफुङे झरना तीन सय मिटर अग्लो छ। चट्टानी कापबाट झरेको यो झरनाको फेदमा फुङफुङे देवीको पूजा गर्ने स्थल पनि छ। धार्मिक-प्राकृतिक दुवै हिसाबबाट महत्वपूर्ण यो झरना मिक्वाखोला गाउँपालिका-४ मा पर्छ। यो सुन्दर झरनामा झरेको पानी मेवा खेलामा मिसिन्छ।

भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ। उक्त सडक निर्माण सकिएपछि पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ, झरना आसपासका बासिन्दाको। अहिले भने त्यहाँसम्म सजिलै पुग्न सकिँदैन। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ।

३) घोर्ले झरना, संखुवासभा

किमाथांका-जोगवनी सडकअन्तर्गत् बाह्रबिसेको जौबारीबाट यस झरनासम्म पुग्न सकिन्छ। जौबारीबाट ११ किमि टाढा छ। सडक नपुगेकाले पर्यटक पुग्न सकिरहेका छैनन्।

यो झरना एक सय ९१ मिटर अग्लो छ, जसमा सबैभन्दा माथिको छाँगो नौ मिटरको छ। दोस्रो छाँगो ६५ र अन्तिम स्टेप एक सय १७ मिटरका छन्।

स्थानीय सरकारले घोर्ले झरना मिनी महोत्सव आयोजना गर्छन्। सडक पुर्‍याउने र सिँढी बनाउने काम भए पनि केन्द्रीय बजेट अपुग भएकाले प्रचार र पूर्वाधार विकास दुवैमा स्तरीय काम हुन नसकेको स्थानीय विमल दाहाल बताउँछन्।

४) पोकली झरना, ओखलढुंगा

ओखलढुंगाको पोकली झरना एक सय ३० मिटर अग्लो छ। पैदल यात्रामा ओखलढुंगा बजारबाट १२ घण्टा टाढा पर्छ, यो झरना। सप्तकोशीको सबैभन्दा सानो सहायक नदी लिखुको शीरमा रहेको पोकली झरना मन्थली र सिर्सिरे हुँदै बीपी राजमार्ग भएर पनि सहजै पुग्न सकिन्छ।

राजधानी काठमाडौंका लागि पनि नजिक र प्रदेश-२ का सप्तरी, सिरहा र सर्लाहीका बासिन्दाको गन्तव्य बन्न सक्छ यो।

५) टोड्के झरना, इलाम

८५ मिटर अग्लो टोड्के झरना देउमाई नगरपालिकाको माईमझुवामा पर्छ। माई पोखरी जाँदा यो झरना पुग्न सकिन्छ।

समुद्री सतहबाट १६ सय मिटर अग्लो स्थानको यो झरना पुग्न इलाम सदरमुकामबाट २५ किमि सडक पार गर्नुपर्छ। क्यानोनिङ र अन्य झरना केन्द्रित पूर्वाधारहरू निर्माण भए धेरै पर्यटक तान्न सकिने सम्भावना छ।

६) नमस्ते झरना, धनकुटा

भेडेटार बजारबाट आठ किमि टाढा छ, यो झरना। धरान-धनकुटा सडकको उत्तर-पूर्वमा बग्ने सिङ्सवा खोलाको शीरबाट झर्ने यो झरनालाई नमस्ते नाम दिइएको छ।

त्यहाँ पुग्न कोशी राजमार्गको धरान-धनकुटा सडकबाट करिब दुई किमि भित्रपट्टि जानुपर्छ। धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको यो झरना प्रदेश-१ को सबैभन्दा व्यस्त पर्यटकीय गन्तव्य हो। विहार र पश्चिम बंगालका बासिन्दा पनि आउने गर्छन्। ८० मिटर अग्लो झरनामा गर्मी छल्न र क्यानोनिङ गर्नेहरू प्रशस्त आउँछन्।

-nepal samay वाट साभार

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला

9842145045/9805397055

email : letangkhabar@gmail.com

email: prashantniroula745@gmail.com

http://www.letangkhabar.com

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ