काठमाडौं ६ साउन ।गत शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङले एक निजी विद्यालयको कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षामा अध्ययनरत नेपाली छात्राहरुको बारेमा केही अभिव्यक्ति दिएका थिए । मन्त्री तामाङले मेडिकल अध्यनका लागि नेपाली चेलीहरुले बंगलादेशमा शरीर बेच्नुपरेको भन्दै भाषण गर्न भ्याएका थिए । उनको यही अभिव्यक्ति अहिले उनलाई निल्नु न ओकल्नुु भएको छ ।
उनले आफ्नो भाषणका क्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताए । मन्त्रीले नै यसरी अभिब्यक्ति दिएपछि उनको चर्को बिरोध भइरहेको छ यतिबेला । उनको यही अभिव्यक्तिका कारण बंगलादेश लगायतका मुलुुकहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरु उनको आलोचनामा उत्रिएका छन् ।
मन्त्री तामाङले ‘बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफकेट लिनका लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ ।’ कानुनमन्त्रीले नै सार्वजनिक कार्यक्रममा यसरी बोल्दा समाजले कसरी लियो होला यो गम्भिर विषय बनेको छ ।
संचारमाध्यममा निकै भाइरल बनेका छन् कानुनमन्त्री यतिबेला । केही समय अघि बिएन्डसी मेडिकल कलेजका विवादास्पद सञ्चालक दुर्गा प्रसाईले पनि मन्त्री तामाङले जस्तै अभिव्यक्ति दिएका थिए । उनको यो घटना सेलाउन नपाउँदै मन्त्रीले पुनः यस्तै अभिव्यक्ति दिनु गम्भिर विषय बनेको छ ।
यता, मन्त्री तामाङले आइतबार दिउँसो एक विज्ञप्ति नै प्रकाशित गर्दै विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चारमाध्यममा आएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थीले भोग्नु परेको समस्यालाई आफूले उजागर गरेको दावी गरेका छन् ।