हरि कोइराला
उर्लाबारी ३० असार । पूर्वी मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि ६१ करोड ७४ लाख ५८ हजार ४० रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
शनिबार उर्लाबारी–५ को सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिको सभा हलमा आयोजित दोस्रो नगर सभामा नगर उप प्रमुख लक्ष्मी देवी भण्डारीले नगरको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नु भएको हो । नगरले आम्दानी तर्फ आव ०७५÷०७६मा आन्तरिक आम्दानी ४ करोड रुपियाँ हुने प्रक्षेपण गरेको छ । यस्तै आव ०७४÷०७५को मौज्दात ३ करोड ४० लाख ३४ हजार ४० रुपियाँ रहेको छ ।सङ्घीय राजश्व बाँडफाँडबाट ८ करोड ५२ लाख ६५ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । सङ्घीय बित्तीय हस्तान्तरणबाट १४ करोड ८५ लाख रुपियाँ प्राप्त हुनेछ भने प्रदेश सरकारको राजश्व बाँडफाँडबाट १ करोड ७९ लाख रुपियाँ प्राप्त हुनेछ । यसैगरी सामाजिक सुरक्षा भत्ता वापत १० करोड, शसर्त अनुदान १८ करोड ३० लाख रुपियाँ, सडक वोर्डबाट प्राप्त हुने ४० लाख रुपियाँ र एलजीसिडिपी तर्फबाट ७ लाख ५० हजार रुपियाँ गरी कुल ६१ करोड ७४ लाख अनठाउन्न हजार ४० रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै खर्च तर्फ प्रशासनिक खर्च ८ करोड ७ लाख ९ हजार रुपियाँ चालु कार्यक्रम तर्फ ५ करोड ३३ लाख रुपियाँ ,पूँजी गत खर्च तर्फ १९ करोड ९६ लाख ९९ हजार ४० रुपियाँ खर्च हुने अनुमान गरिएको छ । सशर्त अनुदानका लागि जुन जुन शीर्षकमा बजेट प्राप्त भएको छ । सोही शीर्षकमा खर्च हुनेछ । सडक वोर्ड र एलजीसिडिपी तर्फबाट प्राप्त हुने रकम सोही क्षेत्रमा खर्च हुनेछ ।
उर्लाबारी नगरपालिकाले विभिन्न २१ वुँदामा नगरको नीति तथा कार्यक्रम ल्याएको छ । स्वास्थ्य, प्राविधिक शिक्षा, पर्यटन प्रवद्र्धन र कृषि ब्यावसायलाई प्रमुख प्राथमिकताको सूचीमा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।
पर्यटन मार्ग र मदन भण्डारी मार्गले उत्तरी मोरङको भाग्य निर्माण गर्ने –खतिवडा
नगर सभाको उद्घाटन गर्दै मोरङ –१ का प्रतिनिधि सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि घनश्याम खतिवडाले उर्लाबारीमा चक्रपथ निर्माणका लागि संघीय संसदमा कुरा उठाउने बताउनु भयो । उहाँले उर्लाबारीको ढल ब्यवस्थापन गर्न जरुरी भएको औल्याउँदै त्यसका लागि आफू सहयोग गर्न तयार भएको उल्लेख गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि किसान चौक –टाँडी–रमितेखोला हुँदै मिक्लाजुङ सम्म पर्यटन मार्ग आवश्यक रहेको बताउँदै उहाँले मदन भण्डारी मार्ग र पर्यटन मार्गले उत्तरी मोरङ भाग्य निर्माण गर्ने दाबी गर्नुभयो ।
मावा र बक्राहा नदीको कटान नियन्त्रणका लागि दिगो कार्यक्रम आवश्यक प्रदेश सभा सदस्य – साम्वा
मोरङ १ ९१०का प्रदेश सभा सदस्य कुलप्रसाद साम्वाले उर्लाबारीको दुखको रुपमा चिनिएका मावा र बक्राहा नदीको कटान नियन्त्रणका लागि दिगो कार्यक्रम आवश्यक भएको बताउनु भयो । उहाँले घर–घरमा बजेट पुगेकाले अब नागरिकका दुखका दिन सकिएको बताउनु भयो । साम्वाले भन्नुभयो–उर्लाबारीमा विकासको मूल फुटेको छ । अब सरकारी स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्ने उल्लेख गर्दै मङ्गलबारे अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने बताउनु भयो । मदन भण्डारी स्मृति प्रतिष्ठान प्राविधिक शिक्षा लागि मुलुककै भरपर्दो केन्द्र भएको बताउँदै उहाँले सबैका लागि प्राविधिक शिक्षा उपलब्ध हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । आर्थिक समृद्धिको सबैभन्दा ठूलो शत्रु सेण्डिकेट रहेको बताउँदै उहाँले समाजसेवा,शिक्षा, ब्यापार ,यातायात र विकासको सेण्डिकेट हटाएर चुहावटको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।
नगरमा भू उपयोग नीतिको आवश्यक–भट्टराई
नेकपा उर्लाबारीका अध्यक्ष अग्नि भट्टराईले नगरमा भू उपयोग नीतिको आवश्यकता औंल्याउनु भयो । उहाँले भन्नुभयो –सरकारी जमीन ब्यक्तिले हस्तक्षेप गरेर बस्ने परम्पराले समस्या उत्पन्न भएको छ । उहाँले सबै दलको सामूहिक प्रयासबाट मात्र उर्लाबारीको समृद्धि सम्भव भएको बताउनु भयो ।
सहमति र सहकार्यमा बिकास सम्भव–थापा
नेपाली कांग्रेसका उर्लाबारी सभापति वीरबल थापाले सहमति र सहकार्यका आधारमा मात्र विकास सम्भव रहेको चर्चा गर्दै सिमित स्रोत र साधनबाट नगरका ठूला आयोजना सम्पन्न गर्न कठिन भएकोले प्रदेश र संघीय सांसदहरूले बिकासमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । थापाले नगरको यही नेतृतवले समृद्ध हरियाली शहर निर्माणको सपना चाँडै पुरा गर्ने बताउनु भयो ।
ढल निकासलाई प्राथमिकताको सूचीमा राख्न आग्रह –दाहाल
राप्रपा उर्लाबारीका नगर अध्यक्ष देवी दाहालले उर्लाबारीको ढल निकासलाई विकासको प्राथमिक सूचीमा राख्न ध्यानाकर्षण गराउनु भयो । उहाँले उर्लाबारीमा ब्यावसायिक तरकारी खेतीको सम्भावना राम्रो रहेको बताउँदै सुख्खा डाँडाहरूमा सिंचाईको प्रबन्ध मिलाई उर्लाबारीलाई तरकारीमा आत्म निर्भर बनाउनु पर्ने उल्लेख गर्नुभयो ।
पर्यटन विकासका लागि ठोस कार्यक्रम आएन–दाहाल
नयाँशक्ति नेपालका उर्लाबारी अध्यक्ष मनोहरि दाहालले उर्लाबारीलाई पर्यटकीय शहर निर्माण गर्नका लागि ठोस कार्यक्रम नआएको टिप्पणी गर्नुभयो । दाहालले भन्नुभयो –हामी हाम्रा पैसा अन्यत्र लगेर खर्च गरिरहेका छौं । ति पैसा आफ्नै सहरमा खर्च गर्ने ठाउँ बनाउनु पर्ने दाहालको भनाई थियो । उहाँले बेतनी सीमसार लगायतका सीमसारहरूलाई पर्यटकीय केन्द्रका रुपमा बिकसित गर्न सकिनेमा जोड दिनुभयो ।
नगर सभा नगर प्रमुख प्रमुख खड्गबहादुर फागोको सभापतित्वमा भएको थियो ।