जेफालेको बिकासमा सडक सुरक्षा र सञ्चार अझै समस्या

Letang Khabar मंगलबार, आषाढ १९, २०७५

जेफाले (मोरङ), १९ असार । बर्षमा ७ देखी ८ हजार सम्म पर्यटक भित्रयाउन सफल मोरंगको प्रसिद्ध पर्यटकिय क्षेत्र जेफालेको बिकासमा सडक, सुरक्षा र सञ्चार समस्या अझै बाधक बनिरहेको छ ।

 

मोरङको उत्तरी क्षेत्रमा पर्ने केरागारी गाउँपालिका २ पर्ने पर्यटकिय क्षेत्र जेफालेकालागि बषौदेखी कायम रहेको सडक, सुरक्षा र सञ्चारको समस्या अझै बिकासको बाधक बनिहरहेको हो । धनकुटा र मोरंग जिल्लाको सिमानापर्ने जेफाले डाँडामा भ्यु टावर निर्माण गरेर फेदी हाबेचौरी गाउँमा होमस्टे संचालन गरेपछि यहाँ पर्यटक मनग्गे पुग्न थालेका छन ।

गत तीन बर्षदेखी बर्षदेखी बर्षेनी ७ देखी १० हजार सम्म पर्यटक जेफालेमा आएर बस्न थालेको होमस्टे संचालक समिति सचिव भीम ठकुरी बताउँछन । उनका अनुसार बिकट सडकको अझै पुरा स्तरोन्नती नहुँदा , सुरक्षाकालागि प्रहरी चौकी स्थापना नगर्दा र भरपर्दो नेटबर्ककालागि मोवाइलको टावर नहुँदा अझै जेफालेको पर्यटनमा बाधा पुगिरहेको सचिव ठकुरीको भनाई छ ।

जेफालेमा २०७० सालदेखी तत्कालिन जिल्ला बिकास समिति मोरंगको सहयोगमा होमस्टे संचालन हुन थालेको हो । यहाँ हाल ७ घरमा होमस्टे संचालनमा छन । एक रातमा ५० जना पर्यटकलाई सुताउन र खानपान गराउन सक्ने क्षमता यहाँका होमस्टेहरुको छ । पहिले फाटफुट्ट पुग्ने गरेको भएपनि भ्यु टावर पुर्ण रुपमा संचालनमा आएपछि मनग्गे पर्यटकहरु आउन थालेका छन । गर्मीको समयमा कहिलेकाही त होमस्टेमा ठाउँ नपाएर पर्यटकहरु फर्केन पनि बाध्य हुन्छन ।

होमस्टे सचालक महेन्द्र खडकाकाका अनुसार पर्यटक आउन थालेपछि एउटा होमस्टेले मासिक ५ देखी ७ लाख रुपैया सम्म कारोवार गर्न थालेका छन । पर्यटक आउन थालेपछि यहाँ आर्थिक गतिबिधि हवात्तै बढेको छ ।

सुर्योदय हेर्ने र चिसो मौसमको आनन्द लिन पुग्छन पर्यटक जेफाले

बाह्रै महिना चिसो हावापानी र मनोरम दृश्यले गर्दा यहाँ पर्यटकहरु जेफाले डाँडा चढेर सुर्योदय हेर्न र एक नम्बर प्रदेशका बिभिन्न जिल्लाहरु अवलोकन गर्न पुग्ने गर्दछन । शान्त र कोलाहाल रहित जेफालेमा रहेको चिया बगान घुम्न र स्थानिय सँस्कृतिको अध्यन गर्न पनि पर्यटकहरु पुग्ने गर्दछन ।

सडक, सुरक्षा र सञ्चारको समस्या समाधान भएमा यहाँ पर्यटक पुग्ने हैन ओइरिने बिश्वास स्थानियको छ ।

बिराट क्षेत्रिय पर्यटन प्रबृद्धन बिकास समितिका अध्यक्ष तथा जेफाले पर्यटकिय क्षेत्र संरक्षण समितिका समेत अध्यक्ष रहेका स्थानियबासी डिल्लीप्रसाद अधिकारी राम्रो आर्थिक आम्दानी हुने जेफाले सम्म सडकको स्तरोन्नती गर्न र सुरक्षा र सञ्चारको टावर स्थापना गराउन पटक पटक पहल गरेपनि समस्या समाधान भैनसकेको बताउँछन ।

पटक पटकको पहलपछि बल्ल जेफालेमा पर्यटकहरुको सुरक्षाकालागि प्रहरी चौकी स्थापना हुने भएको छ । त्यसकालागि जिल्ला सुरक्षा समितिको निर्देशनमा इलाका प्रहरी बेलबारी मार्फत चौकी राख्ने प ठाउँ र घर रोज्ने काम भैसकेको छ । यसैले केही महिनाभित्रै जेफालेमा प्रहरी चौकी स्थापना हुनेछ । तर अझै जेफालेसम्म पुग्ने सडकको स्तारोन्नती र मोवाइलको टावर राख्ने काम भने पुरा भएको छैन ।

शान्त परिवारिक पर्यटनकालागि जेफाले उचित

सडक स्तरोन्नी गरेर सञ्चारको राम्रो सुबिधा पुरयाएमा झापा, मोरंग र सुनसरीका मात्र नभएर बिहार र बंगालका पर्यटकहरुलाई पनि सहजै जेफाले पुरयाएर प्याकेजमा भ्रमण गराउन सकिने बिराटनगरका होटल व्यवसायीहरु बताउँछन । हाल चिसो मौसमकालागि भनेर चर्चित धनकुटाको भेडेटार भन्दा मोरंगको जेफाले शान्त परिवारिक पर्यटनकालागि उचित भन्दै पर्यटकहरु स्वतस्फुर्त रुपमा पुग्ने गरेका छन ।

कोही जोखिम मोलेर भएपनि मोटर साइकल र निजी सवारी लिएर केरावारीहुदै जेफाले सम्म पुग्ने गरेका छन भने कोही लामो यात्रा भएपनि धनकुटाको भेडेटार , डाँडाबजार , राजाराजी हुदै धनकुटाको समेवा भएर मोरंगको जेफाले आउने गरेका छन । पर्यटकहरुको रोजाईमा परेकोले केरावारी जेफाले सडकको चाँडो पुरै स्तारोन्नती भएमा जेफाले जाने पर्यटकहरुको कमी नहुने होटल व्यवसायी पुण्यप्रसाद भट्टराई बताउँछन ।

जेफाले पुर्वपश्चिम राजमार्गमा पर्ने खोर्साने चौकदेखी ३२ किलोमिटर उत्तरमा पर्दछ । खोर्सानेबाट ७ किमी दुरीमा रहेको केरावारीबाजार बाट उत्तर पहाडी मार्ग भोगटेनी हुदै केवारी गाप २ मा पर्ने जेफाले सम्मकालागि २०५२ सालदेखी सडक निर्माण भैरहेको छ । तर हाल केरावारीबाट भोगटेनी सम्म १२ किमी सडक स्तर उन्नती भएपनि अझै जेफाले सम्मको १३ किमी सडक स्तरोन्नती भएको छैन ।

मोरङको उत्तरी क्षेत्र र धनकुटाबासीकालागि पनि महत्पुर्ण सडक

धनकुटाको सामेवा सम्म जोडिएको खोकेभोसी (खोर्साने, केरावारी, भोगटेनी सिँहदेवी ) सडक कृषी करिडोरका रुपमा समेत चिनिन्छि । हाल यो सडक केरावारीदेखी भोगटेनीको रामपुर सम्म करिब १२ किलोमिटर जति मात्र स्तरोन्नी (ग्राभेल) भएको छ । तर रामपुरदेखी लेटाङको आरुवोटे हुदै सिँहदेबीको जेफाले सम्म सडक अझै स्तरोन्नी हुन सकेको छैन । धनकुटाको समेवादेखी मोरङको सिंहदेवीको विहिबारे (हावेचौरी) बजारहुँदै दक्षिणको लेटाङ र केरावारी बजार भर्न आउनेहरुको मुख्य मार्ग पनि यही सडक हो ।

बर्षोदेखी पहाडी क्षेत्रका मानिशहरुले तराई पहाड आवतजावत गर्न यही बाटो प्रयोग गदै आएका छन । उत्तरी मोरङको तराई र पहाड जोडने मुख्य मार्ग भएकोले पनि यो सडक चाँडो स्तारोन्नती भएमा आर्थिक बिकासमा सहयोगी हुने सिँहदेबीका कृषक नारायण राई बताउँछन । उनका अनुसार मोरंगको खोर्साने र लेटाङदेखी धनकुटाको समेवासम्म जोडिएको यो सडक पुर्ण स्तरोन्नती भएमा धनकुटाको भेडेटार , ६ नम्बर बुधबारे , पाँचथरको रबि सम्म आवतजावत गर्न पनि सजिलो हुनेछ ।

मोरङको पहाडी क्षेत्रमा अझै सुरक्षा कष्ट

मोरङको उत्तरी पहाडी क्षेत्रमा प्रहरीको उपस्थिती नहुँदा नागरिकहरुले सुरक्षा माग्न पनि निक्कै कष्ट पाउने गरेका छन । कुनै घटना दर्ता गराउनुपरयो भने एकदिनको वाटो हिँडेर लेटाङ र केरावारीमा रहेको ईलाका प्रहरी कार्यालय आउनुपर्दछ । साँधुरो र जोखिमपुर्ण बाटो भएकोले प्रहरीहरु कुनै ठूलै घटना र सुरक्षा जोखिम भए मात्र लामो समय लगाएर फाट्टफुट्ट पुग्ने गरेका छन । वर्षायाममा सुनसरी र धनकुटा जिल्ला हुँदै सिँहदेवी पुग्नुपर्ने भएकोले सुरक्षाको चिन्ता झन वढि हुनेगरको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लामा ७० वटा प्रहरी ईकाईहरुमा १२ सय वढि प्रहरीहरु कार्यरत छन । तर अझै मोरङको उत्तरी क्षेत्रमा पर्ने सिँहदेवी , याङशीला , भोगटेनी , पाटी गाउँ र रमितेखोला क्षेत्रमा प अझै नेपाल प्रहरी र शसस्त्र प्रहरीका कुनै पनि ईकाई स्थापना भएका छैनन ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ