सन्दर्भ २७ औं विश्व अपाङ्ग दिवस स् छोराछोरी सबै अपाङ्ग भएपछि कन्त बिजोग

Letang Khabar सोमबार, मंसिर १७, २०७५

तेजन खड्का

मोरङ ,१७ मंसिर । आज २७ औं विश्व अपाङ्ग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । देशभरी मनाइ रहँदा मोरङ इटहरा–७ सिक्किमे टोलका अपाङ्ग परिवार भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्थाहरु व्यानर र प्लेकार्डसहित सडकमा निस्किरहँदा उनीहरुले भोग्नु परेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन । अपाङ्गहरुको क्षेत्रमा क्रियाशील संस्थाहरुले लाखौं बजेट खर्चेर मनाइरहेका दिवसका समाचार रेडियो टिभीमा हेर्दा उनीहरुलाई आलो घाउमा नुनचुक छर्केजस्तै पीडा हुन्छ । तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका पाँचजना अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन् । ढुङ्गाना परिवारका २ छोरा र ३ छोरीले कम्ता कष्टपूर्ण जीवन बिताउनु परेको छैन ।

शारीरिक रुपमा अपाङ्ग भएकाहरु ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीय पार्वता र २० वर्षीय गोमाले सानै उमेरदेखि यस्तो कष्टपूर्ण जीवन जिउनु परिरहेको छ । जन्मेको केही महिनापछि नै बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामान्य नहुने बुझिसकेका थिए । भनिन्छ, छोराछोरी भनेका बुढेसकालका लौरो हुन्, तर यी ढुङ्गाना दम्पतीको हकमा भने यो उखान उल्टो भएको छ । यी दम्पत्तिको दिनरात अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा बित्छ । यी दम्पत्ति ५ जना छोराछोरीका सेवक मात्रै भएका छन् ।

शारीरिक तथा मानसिकरुपमा समेत अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनावारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्यही बस्ने, दिसा, पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङ्गानाले बताईन् । ‘५ जना अपाङ्ग छोरा छोरी स्याहार्दै आफ्नो १० कठ्ठा खेत पनि कमाउन सकिएको छैन’, आमा सृजनाले गहँभरि आँशु पार्दै भनिन,( ‘यो १० कठ्ठा जमिनले पनि खान पुग्दैन । छोराछोरी स्याहार्दै दिन बित्ने भएकाले खेत अधिया दिएका छौं ।’ अपाङ्ग छोराछोरी स्याहार्ने दुवैजना बाबु(आमा पनि आफैंमा स्वस्थ छैनन् । ‘शरीरमा बल हराइ सकेको छ, म चिनी र क्षयरोगबाट पीडित छु’, तुलसीरामले भने, ‘मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो ।’

पाँचै जना छोराछोरी जन्मजात नै सुस्त मनस्थितिका छन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् । खाना खुवाएदेखि दिसा, पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् । ‘एकक्षण छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ’, तुलसीरामले भने, ‘पाँचजनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यीनलाई कसले स्याहारिदेला दैव ।’

सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङ्गाना दम्पत्तिले आशा पालेका छन् । ‘हाम्रा छोराछोरीको विजोग देखेर कठैबरी भन्ने मात्र छन्’, सृजनाले भनिन्, ‘संघ संस्थाका व्यक्तिहरु चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन् तर आजसम्म कसैले एक पैसो सहयोग गरेका छैनन् ।

पाँच जना अपाङ्ग छोराछोरीका बाबु तुलसीरामले कोकिलादेवी ढुङ्गानासँग पहिलो विवाह गरेका थिए । कोकिलाको कोखबाट ४ जना सन्तानको जन्म भयो, जसमध्ये निर्मल र निर्मला सुस्त मनस्थितिका भए भने दिपक र सीता शारीरिक रुपमा सबलाङ्ग जन्मे । सवलाङ्ग रहेका दीपक र सीता दुवै आ(आफ्नो खुट्टामा उभिएका छन् । सीता बैवाहिक जीवनमा बाँधिएकी छन् भने दीपक बैदेशिक रोजगारीमा गएका छन् । पहिली पत्नी कोकिलाको ०३८ सालमा मृत्यु भएपछि दुई अपाङ्ग छोराछोरीको स्याहारकै लागि तुलसीरामले साली सृजनासँग विहे गरे । सृजनाबाट पनि चार सन्तानको जन्म भयो । उनले दिदीका जस्तै आफ्ना पनि छोराछोरी अपाङ्ग हुने कुरा कल्पना समेत गरेकी थिइनन् । उनीबाट जन्मेका ४ सन्तानमा तीनजना पनि सुस्तमनस्थितिका भए ।

यसैबीच समाजसेवी महिलाको पहिचान बनाएर नेकपा एमालेबाट समानुपातिक सभासद् बनेकी विराटनगरकी राज्यलक्ष्मी गोल्छाले मोरङको इटहरास्थित एक अपाङ्ग परिवारलाई दिएको खोक्रो आश्वासन उनीहरुले अहिलेसम्म बिर्सिएका छैनन् । एकैघरका पाँच छोराछोरी अपाङ्ग भएको यो परिवारलाई गोल्छाले दिएको आश्वासन र उनीहरुको घर नजिकै तीन वर्ष अघि खनिएको खाडल पनि अहिलेसम्म पुरिएको छैन । मोरङको इटहरा–७ सिक्किमे टोलका एक दम्पति तुलसीराम ढुङ्गाना र सिर्जना ढुङ्गानालाई अपाङ्ग छोराछोरीका लागि पक्की घर बनाइदिन्छु भनेर राज्यलक्ष्मीले तीन वर्षअघि आश्वासन दिएकी थिइन् । ‘तपाईंका पाँचैजना सन्तान सुस्त मनस्थितिका भएको देख्दा ज्यादै दुःख लाग्यो, म तपाईंहरुलाई के सहयोग गर्न सक्छु भनेर राज्यलक्ष्मीले सोध्नुभयो,’ आमा सिर्जनाले भनिन् ‘छोराछोरीलाई अपाङ्ग मैत्री घरको आवश्यक छ भनिदिएँ, उहाँले पनि बनाइ दिने वचन दिनुभयो ।’

गोल्छाद्वारा ०६८ साल फागुन ७ गते साइत हेराई घरको शिलान्यास समेत गरी खाडलसमेत खन्ने काम भएको थियो, ‘तर ३ वर्ष बित्यो, उहाँ सम्पर्कमा आउनु भएन, सिर्जनाले भनिन्, खनेका खाल्डाहरु पनि त्यसै छन्, अहिले त उहाँ सभासद हुनुहुन्छ । त्यसबेला अपाङ्ग परिवारलाई घर बनाइदिने भनेर सञ्चार माध्यममा गोल्छा खुबै छाएकी थिईन् । केही पत्रपत्रिकामा उदाहरणीय राज्यलक्ष्मी गोल्छा भनेर सम्पादकीय समेत लेखियो र त्यसैका आधारमा समाजसेवी भन्दै उनी सभासद बन्न सफल भइन् । ‘रेडियोले पनि भन्यो, पत्रपत्रिका र टिभीमा पनि आयो रे’, सिर्जनाले भनिन्, वचन पूरा गर्न नसक्नेले किन आश नदेखाउनु रु’

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ