लेटाङ मोरङ ३० कात्तिक । राष्ट्रिय गौरवको प्रस्तावित मदन भण्डारी लोकमार्ग अन्तरगत मोरङको लेटाङ नगरपालिका खण्डमा पर्ने सडकको रेखाङ्कनका विषयमा भएको विवाद समाधान भएको छ ।
नगर प्रमुख शंकर राईले सडक नयाँ स्थानमा सर्भे गरिएको ठाउँबाट सडक निर्माण गर्न माग गर्दै आएका उपभोक्ताहरू सँग शुक्रबार कार्यपालिका बैठक स्थगित गरी वार्ता गरेपछि विवाद समाधान भएको हो । १ हजार २ सय किलोमिटर लामो मदन भण्डारी लोकमार्गको रेखाङ्कन लेटाङ नगरको मुख्य बजार वीपी चौक हुँदै लैजाने निर्णय भएको थियो । ५० मिटर चौडाईको मार्ग निर्माण हुँदा सो क्षेत्रका ४ सय बढी धरधनी र उपभोक्ताले सडकले सुकुम्बासी बनाउने भन्दै नगरपालिकालाई बैकल्पिक स्थानबाट सडक लैजान सुझाएको थियो ।सोही सुझाव अनुसार नगरपालिकाको तेस्रो नगर सभाले महेन्द्र राजमार्ग भन्दा १५ किमी उत्तरबाट सडकको रेखाङ्कन गर्न संघीय र प्रदेश सरकारसँग माग गरेको थियो ।
नगरपालिकाले नयाँ स्थानबाट सडकको सर्भे गर्न माग गरे लगत्तै सडक बिभागले नगरपालिकाको सुझाव अनुसार नै सर्भे गरेको थियो । तर गत साउनमा भएको सर्भे अनुसार सडक निर्माण भए समस्या निम्तिने भन्दै नगरकी उपप्रमुख कृष्णकुमारी पोख्रेल सहित ४ जना वडाध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेपछि नयाँ र पूरानो स्थानबाट सडक बनाउने बीच तनाव उत्पन्न भएको थियो ।
शुक्रबार नगरको कार्यपालिका बैठक चलिरहेको बेला मूख्य बजारबाट ५० मिटर चौडाईको सडक बनाउन नदिने उपभोक्ताहरूले नगर प्रमुख शंकर राईलाई ज्ञापन पत्र दिँदै नयाँ सर्भेलाई आधिकारिक रुपमा मान्यता दिन आग्रह गरे । बैठक अवरुद्ध गर्न पुगेका उपभोक्ताहरूले नगर परिषदको बैठकले पारित गरेको विषयलाई पुन विबादमा ल्याएको भन्दै आक्रोस ब्यक्त गरे । नगरपालिकाले प्रकाशन गरेको प्रस्तावित आयोजना पुस्तिकाको १०१ पेजमा नयाँ स्थानबाट सर्भेको माग गरिसकेको अवस्थामा केही जन प्रतिनिधिले नगरवासीहरू बीच द्वन्द्व गराउन खोजेको बजारबासीको भनाई छ ।
स्थानीय राम श्रेष्ठले भन्नुभयो –‘हामी सडक निर्माणको बिरोधी होइनौं । बैकल्पिक स्थानबाट सडक निर्माण गरौं भन्ने मात्र हो । मुख्य बजारबाट ५० मिटर चौडाईको सडक निर्माण भए लेटाङको वडा नं.३ र ४ का ३ सय बढी वासिन्दा विस्थापित हुने र अर्बौको क्षति हुने श्रेष्ठको भनाई छ ।
एक सय जना उपभोक्ताको हस्ताक्षर सहित आएका उपभोक्तासँग नगर प्रमुख राईले कार्यपालिकाको बैठक स्थगित गरी छलफल गर्नु भएको थियो । छलफलका क्रममा उपभोक्ताहरू सीताराम लुइटेल,अग्नि पौडेल र राम बिनोद साहले सडक विकासको पर्याय भएको बताउँदै सडक बन्न नदिने आफूहरू मनसाय नरहेको बताउनु भयो । उपभोक्ताहरूले नगरको मुख्य बजार अधिकांश ऐलानी जग्गामा रहेकोले निर्माणका क्रममा राज्यसँग मुआब्जा लिन सकिने अवस्था नरहेकोले बैकल्पिक स्थानबाट सडक लैजानु पर्नेमा जोडदिए ।
पत्रकार सम्मेलन मार्फत पुरानै सर्भेलाई मान्यता दिनु पर्ने धारण राख्दै आउनु भएकी उप मेयर कृष्णकुमारी निरौलाले सडकको चौडाई निर्धारण नभएकोले पुरानै स्थानबाट सडक लैजान सकिने अभिब्यक्ति दिएको बताउनु भयो । निरौलाले भन्नुभयो–‘२५ मिटर चौडाईको सडक निर्माण हुने अवस्था रहे नगरको मुख्य भाग हुँदै लान सकिन्छ । तर सडक विभागले नगरसँग औपचारिक रुपमा कुनै सम्वाद नगरेकोले सडकको चौडाई बारे नगरपालिका जानकार नरहेको उहाँले बताउनु भयो ।
वार्ड नं. २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले नयाँ सर्भे अनुसार सडक निर्माण भए आफ्नो वडाका झण्डै ७० घर परिवार विस्थापित हुने बताउनु भयो । उहाँले सडक भब्य बनोस, पुरानो सर्भे अनुसार सडक बन्दा वार्ड नं.३ र ४ का वासिन्दा विस्थापित हुने सत्य स्वीकार्दै उहाँले आफ्नो वडाका तुर्के, किँरात चौक,धोवी,लगायतका वस्ती जोगाएर सडक निर्माण हुनु पर्ने बताउनु भयो ।
छलफलमा वार्ड नं. ५ र ९ का वडाध्यक्ष क्रमश भुम मगर र कृष्णप्रसाद लुईटेलले २५ मिटर चौडाईको सडक भए मुख्य बजार बाट लानु पर्ने बताउनु भयो ।
नगर प्रमुख राईले नगरबासीलाई सुकुम्बासी बनाएर सडक बनाउनुको कुनै अर्थ नरहने बताउनु भयो । उहाँले सडक कति लेनको बन्ने स्पष्ट सुचना नआएकोले समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । अनौपचारीक रुपमा ५० मिटरको सडक हुने कुरा सुन्नमा आएकोले कम क्षति हुन सक्ने ठाँउको अध्यय्न गरी सोही अनुसार वाटो लाने नगरप्रमुख रार्ईले वताउनुभयो । राईले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्रालय र सडक बिभागका महानिर्देशकलाई समेत नयाँ सर्भे अनुसार काम अघि बढाउन ज्ञापन पत्र बुझाई सकेको जानकारी दिनुभयो ।
मदन भण्डारी लोकमार्गको झण्डै २० किलोमिटर सडक उत्तरी मोरङको लेटाङ नगरपालिका भित्र पर्ने प्रारम्भिक सर्भेले देखाएको छ । वार्ड नं. ४ का वडाध्यक्ष सन्तोष कार्कीले भन्नुभयो –मुख्य बजारबाट ‘५० मिटर चौडाईको सडक निर्माण गर्दा अर्बौको क्षति हुने देखएको छ । त्यसैले विकल्प खोज्ने निर्णय नगर परिषदले गरेको हो । नयाँ स्थानबाट सडक निर्माण गर्दा कम क्षति हुन्छ भन्ने मेरो भनाई हो । एकातिरको बस्ती बचाएर अर्को तर्फको विस्थापित गराउने हाम्रो नियत होइन ।
२०५५ सालअघि धरान–केराबारी–दमकसम्मको वैकल्पिक राजमार्ग बनाउन पहल गरेको सडक २०६४ र ०६८ सालमा नेपाल सरकारले सर्वे गरेको थियो । सरकारले यो मार्गलाई राष्ट्रिय गौरवको आयोजनामा पारेपछि गत साउनमा बाटोको सर्भे भएको हो ।
राजमार्ग झापाको बाहुण्डाँगी बाट सुरू भै रुपालसम्म पुग्ने छ । यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । जस अनुसार आ.ब. २०७५÷७६ को बजेटमा ४ अर्ब ५० करोड रूपियाँ रकम विनियोजन गरिएको छ । अहिले धरान–चतरा देखि हेटौडा सम्मको ३ सय किलोमिटर काम अघि बढिसकेको छ ।