बिक्री नभएपछि सडकमै खन्याइयो टमाटर

Letang Khabar शुक्रबार, साउन ०४, २०७५

पाँचथर : टमाटर बिक्री नभएपछि पाँचथरका किसानहरूले सडकमै छरेका छन्। हिलिहाङ गाउँपालिका–१, अमरपुरका किसानहरूले सरकारको विरोधस्वरूप टमाटर सडकमै छरेका हुन्।
भारतीय बजारमा नेपाली टमाटर निर्यातमा काँकडभिट्टास्थित भन्सार कार्यालयले अनावश्यक दुःख दिएकाले किसानले उत्पादन गरेका टमाटर लान नसकिएको स्थानीय व्यवसायी लीलानाथ ढकालले बताए। उनले सरकारले टमाटर निर्यातमा सहजीकरण गर्नु पर्नेमा जोड दिए। ‘हामीले टमाटर भारत निकासी गर्न सकेका छैनौँ, भन्सारमा व्यवधान छ’, ढकालले भने, ‘बिक्री छैन। किसान निराश छन्।’
पाँचथरको अमरपुरका ८० प्रतिशत किसान टमाटर खेतीमा संलग्न छन्। जिल्ला कृषि विकास कार्यालयले आईपीएम कृषक पाठशाला सञ्चालन गराई व्यवसायिक टमाटर खेतीमा किसानलाई सहयोग पुर्‍याएको थियो। यससँगै टमाटर रोपण, रोग किरा नियन्त्रण र विषादी प्रयोग गर्न तालिम पनि प्रदान गरेर कार्यालयले किसानलाई थप उत्साहित तुल्यायो। उत्पादन गरेको टमाटर यो वर्ष बिक्री नै नभएपछि किसानहरू दुखित छन्। अमरपुरका टमाटर उत्पादक किसान खड्ग तामाङ बारीमै टमाटर कुहाएको बताउँछन्। ‘बिक्री नभएपछि टिपेर पनि के गर्नु ?
रोपेको, स्याहारेको, विषादी लगाएको त के कुरा ? टिपेको निमेक पनि उठ्दैन’, तामाङले भने, ‘यस्तै हो भने टमाटर खेती नगर्दा हुने भो।’ उनी जस्तै सिंगै गाउँका किसानका बारीमा लटरम्म फलेको टमाटर राताम्मे पाकेको देख्न सकिन्छ। बिक्री नभएपनि नटिप्दा बोटमै बढी पाकेर टमाटर कुहिन थालेको छ। पसिनाको मूल्य लिने बेलामा बिक्री गर्न नपाउँदा अत्यन्तै दुःखी भएको याङ्वरक गाउँपालिकाको नाँगिका किसान डम्बर भारती बताउँछन्। उनले प्रतिक्यारेट यसअघि ८० रुपैयाँमा टमाटर बिक्री भएकोमा अहिले २३ क्यारेटलाई ५० रुपैयाँमा पनि व्यवसायीले लिन नचाहेको बताए।
‘बजार मूल्य छैन भन्छन्, अब फ्याँक्ने हो , गाईवस्तुले खाने होइन’ उनले भने ‘ टमाटर खेती गरेको जग्गामा मकै छैन, कोदो पनि छैन, मूल्य पाए चार लाखको हुन्थ्यो, अहिलेको मूल्यमा २० हजार नाघ्दैन।’ याङ्वरकको नाँगी क्षेत्रका किसानको बारी राताम्मे नै देख्न सकिन्छ। जताततै टमाटरै टमाटर छ। स्थानीय गंगा योङ्हाङले अदुवाकाे मूल्य घटेपछि टमाटर खेतीमा लागेको भन्दै यसको हालत पनि खराब भएपछि के खेती गर्ने भन्ने चिन्ता रहेको बताइन्। ‘उकालो नलाग्ने खेती गरिएछ, कम्ती स्याहार गर्नु पर्दैन’, उनले निराश हुँदै भनिन्, ‘अब अर्को सालदेखि खेती गर्दिनँ, पसिनाको मूल्य पनि नउठेपछि के गर्नु त?
जिल्ला कृषि विकास कार्यालयले याङ्वरकको नाँगी, थर्पु, हिलिहाङको अमरपुरलगायतको क्षेत्रलाई टमाटरको पकेट क्षेत्र पनि घोषणा गरेको छ। पकेट क्षेत्रमा किसान लक्षित कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष मात्रै त्यस क्षेत्रबाट १० करोडभन्दा बढीको टमाटर जिल्लाबाहिर निर्यात भएको थियो।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ